दर्ता गरेको कागजात नदेखाउने किराना पसललाई २० हजार जरिवाना

नेपालगन्ज : बजार अनुगमन टोलीलाई व्यवसाय दर्ता गरेको कागजात नदेखाएको अभियोगमा नेपालगन्ज उपमहानगरपालिकाको एकलैनीको वीरेन्द्र किराना पसललाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जको अगुवाइमा संयुक्त अनुगमन टोलीले पसलले व्यवसाय दर्तालगायत आवश्यक कागजात नदेखाएर असहयोग गरेर अनुगमनमा बाधा गरेको भन्दै तत्काल २० हजार रुपैयाँ जरिवाना गरी सात दिनभित्र व्यवसाय दर्ता र नवीकरणलगायत आवश्यक कागजात कार्यालयमा पेश गर्न निर्देशन दिइएको कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए । अनुगमन टोलीले नेपालगन्जका विभिन्न किराना एवं खाद्य पसलहरुको अनुगमन गर्दा म्याद नाघेका खाद्यवस्तु नष्ट गर्न निर्देशन दिइएको थियो ।