राप्ती सोनारीका ३८ युवालाई हाउस वायरिङ र ड्राइभिङ तालिम

फत्तेपुर (बाँके) : राप्ती सोनारीका ३८ युवालाई हाउस वायरिङ र ड्राइभिङ तालिम दिइएको छ ।
प्रदेश ५ सरकारको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत २० जनालाई तीन महिने हाउस वायरिङ र १८ जनालाई एक महिने ड्राइभिङ तालिम दिइएको हो ।

तालिम समापनको अवसरमा प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । स्थानीय आवश्यकताका आधारमा नै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सन्चालन हुने भएकाले यस्ता कार्यक्रममा बढी भन्दा बढी फाइदा लिन आग्रह गरिन् । राप्तीपारी विद्युत विस्तारको काम भइरहेकाले हाउस वायरिङ तालिम तत्कालै उपयोगी हुने उनको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्ती, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, राप्ती सोनारी ७ का वडा अध्यक्ष रामलखन थारु, स्थानीय बुद्धिजीवी लालबहादुर थापालगायतले प्रशिक्षार्थीलाई सिकेको सीपलाई व्यवहारमा उर्तान जोड दिएका थिए ।