युनेस्को बाँकेद्वारा बाँके र बर्दियाका ३ स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
नेपालगन्ज : बाँके युनेस्को क्लबले बाँकेका एक र बर्दियाका दुई स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र इस्लामिक रिलिफ नेपालद्वारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएका हाथ धुने ट्यांकीसहितको सेट, हाइजिन किट, पीपीई, डिग्नीटि किट र बकेट मग र सरसफाइका सामाग्री बाँकेको नेपालगन्ज उपमहानगरपालिका, बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
बर्दियामा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी र कार्यकारी निर्देशका रवि तुलाधरले र नेपालगन्ज उपमहानगरपालिकामा क्लबका महासचिव मीना तुलाधर र कार्यसमिति सदस्य फिरदौस जहाँ खानले सामग्री हस्तान्तरण गरेका थिए । कोभिड १९ विरुद्धको अभियानलाई शसक्त बनाउन बाँके र बर्दियाका स्थानीय तहमा रहेका क्वारेन्टाइनका लागि ती सामाग्रीहरु उपलब्ध गराइएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।