नेपालगन्जको वडा नं. २ ले गर्यो ३ वर्षे कार्यकालको समीक्षा
नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २ ले वडामा निर्वाचित जनप्रतिनिधि आएपछिको तिन बर्षे कार्यकालको समिक्षा गरेको छ । वडा कार्यालयले शुक्रबार बिहान समिक्षात्मक पत्रकार सम्मेलनको आयोजना गरी तिनबर्षको अवधिमा गरेका कामहरुको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष सुनिल सिंह हमालले आ.व २०७४/०७५ देखि हालसम्म उपमहानगरपालिकाद्धारा बिनियोजित करिव ३ करोड बजेटबाट बिभिन्न योजना तथा कार्यक्रमहरु संचालन भएको जानकारी दिए ।
वडामा निर्वाचित जनप्रतिनिधि आएको तिनबर्षको अवधिमा सम्पन्न भएका मुख्य कार्यहरुको जानकारी दिँदै उनले सो अवधिमा विभिन्न सडक तथा नाला निर्माण, सार्वजनिक विद्यालयको स्तरोन्नती, सार्वजनिक सौचालय निर्माण, खानेपानी धारा जडान, वागेश्वरी मन्दिर प्रवेशद्धार निर्माण, वागेश्वरी पार्कभित्र फ्रि वाईफाइ जडान, एडिविको योजनामा परेका विभिन्न १४ वटा सडकहरुको निर्माण र सडक बत्ती लगाउने काम सम्पन्न भएको बताए । त्यस्तै बौद्ध पार्क सौन्दर्यीकरण, सूचनाप्रविधिमैत्री वडा बनाउन ४ स्थानमा वाइफाइ जडानकार्य अन्तिम चरणमा रहेको, वडालाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना तयार गर्नुका साथै सेवाप्रवाह प्रभावकारी बनाउन हेल्प डेक्स स्थापना गर्नुका साथै सार्वजनिक सुनुवाई गरिएको वडाअध्यक्ष हमालले दावी गरे ।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र संगको समन्वय तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा बृहद रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।