बाढी प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास

बबई नदीको भादा पुल नजिक कृत्रिम घटना अभ्यास । फोटो सौजन्य : रुपन ज्ञवाली

गुलरिया : जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले शुक्रबार बाढीको कृत्रिम घटना अभ्यास गरेको छ ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बर्दियाका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार बाढीको बेला हुनसक्ने मानवीय तथा भौतिक क्षति तथा खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बबई नदीको भादा पुल नजिकै कृत्रिम घटना अभ्यास गरिएको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना तथा रेडक्रसको सहभागितामा भएको बाढीको कृत्रिम घटना अभ्यासमा करिब एक सय जनाको सहभागिता रहेको थियो ।


प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष लीलाधर अधिकारीले कृत्रिम घटना अभ्यासले बाढीका बेला जनशक्ति तथा आवश्यक खोज तथा उद्दार सामाग्रीको पूर्वतयारी गर्न सहयोग पुगेको बताए । बाढी कृत्रिम अभ्यास कार्यक्रममा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र तथा सुरक्षा निकायमा रहेका रवरवोट, खोज तथा उद्दार सामग्रीहरुको प्रयोग गरिएको प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिए ।