एनटिभी कोहलपुरबाट दैनिक ३ समाचार बुलेटिन

कोहलपुर :  नेपाल टेलिभिजन (एनटिभी) कोहलपुर च्यानलले १ साउनदेखि दैनिक तीन वटा समाचार बुलेटिन प्रसारण गर्ने भएको छ ।
बुधबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका सचिनले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका समाचार र समाचारीय सामग्रीलाई प्राथमिकता दिने गरी दैनिक दिउँसो ३, अपरान्ह ५ बजे र साँझ ७ बजे गरी तीन वटा समाचार बुलेटिन प्रसारण हुने बताए । बिहान ६ बजेदेखि ९ बजेसम्म समाचार र समाचारमूलक कार्यक्रम प्रसारण हुनेछन् । नेपाल टेलिभिजनको राति ८ बजे र बिहान ७ बजेको समाचार भने केन्द्रीय प्रसारणको नै प्रसारण हुनेछ । महाप्रबन्धक सचिनले एनटिभी कोहलपुर च्यानललाई पूर्ण क्षमतामा सन्चालन गर्ने तयारी अनुरुप काम थालेको जानकारी दिए ।
यो च्यानलले प्रदेश ५, कर्णाली र सुदूरपश्चिम क्षेत्रको कला, संस्कृति, भाषा र संस्कृतिको प्रबद्र्धन गर्ने गरी सन्चालन गर्न गइरहेका छौं’, महाप्रबन्धक सचिनले भने, ‘यो तपाईहरुको आफ्नै च्यानल हो । स्थानीय र प्रदेश सरकारलाई पनि अपनत्व ग्रहण गर्न म आग्रह गर्छु ।’
एनटिभी कोहलपुर च्यानलका प्रमुख निराजन खनालले यहाँ बोलिने अवधि, थारु, डोटेलीलगायतका भाषाका समाचारलाई पनि क्रमशः प्रसारण गर्ने लक्ष्य रहेको बताए । उनले स्थानीय भाषा तथा संस्कृतिको विकास गर्नको लागि विभिन्न भाषाभाषिका कार्यक्रमदेखि स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, बाल कार्यक्रम र मनोरन्जनात्मक कार्यक्रमहरु प्राथाकिमताको आधारमा क्रमशः सुरु गरिने प्रष्ट पारे ।
नेपाल टेलिभिजनले आफ्ना ५ वटै च्यानलको प्रसारण स्याटलाइटबाट विश्वमा १४६ देशमा पहुँच रहेको दाबी गरेको छ । नेपाल टेलिभिजनबाट उत्पादित सबै समाचार तथा सूचनामुलक कार्यक्रमहरु डिजिटल प्लेटर्फम फेसबुक, युट्युव, तथा मोबाईल एप्सबाट विश्वभर हेर्न सकिने जनाएको छ । नेपाल टेलिभिजनले ०५३ सालमा क्षेत्रीय प्रसारण केन्द्रको रुपमा कोहलपुरमा टेलिभिजन सन्चालन गरेको हो । सशस्त्र द्वन्द्वको बेला ०६१ सालदेखि १३ वर्ष बन्द रहेको थियो । २०७४ सालदेखि पुनः प्रसारण भएको हो । नेपाल टेलिभिजनको ५ वटा च्यानलमध्ये राजधानीबाहिर इटहरी र कोहलपुर राजधानी बाहिरबाट छुट्टै स्याटेलाइट च्यानलको रुपमा प्रसारण भइरहेका छन् ।