बर्दियामा सामाजिक परिक्षण नगर्ने विद्यालयको खाता रोक्का

शक्ति परियार : सामाजिक लेखापरिक्षण नगरेको भन्दै बर्दियाको राजापुर ८ स्थित भेरी माध्यामिक विद्यालय धोविनपुरको खाता रोक्का गरिएको छ । पाँच वर्ष देखि सामाजिक लेखापरिक्षण नगराएपछि विद्यालयको बैंक खाता रोक्का गरिएको हो । पटक पटकको निर्देशनमा पनि विद्यालयले वेवास्ता गरेपछि बैंक खाता रोक्का गरेको राजापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरीले बताए । ‘राजापुर नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयहरु मध्ये ७ वटा विद्यालयले लेखा परिक्षण गराएका थिएनन’ उनले भने ‘पटक पटक भनेपछि अरुले गरेपनि भेरी माविले लेखापरिक्षण गरेको फाईल बुझाएको      छैन ।’
यतीबेला विद्यालयले विभिन्न बहाना बनाएर लेखा परिक्षण गर्न वेवास्ता गर्नुका साथै मनोमानी रुपमा काम गरिरहेको पाईएको छ । कोरोना संक्रमणका कारणले जारी बन्दाबन्दीको समयमा विद्यालयले शिक्षकहरुको तलब नदिएको भेरी मावि धोविनपुरका शिक्षक मातृका जैसीले बताए । विद्यालयका लेखापाल पुनाराम चौधरीले भने लेखा परिक्षणको तयारी भईरहेको भएपनि कार्य व्यस्तताका कारण ढिलाई भएको बताए ।
राजापुर शिक्षा शाखाले सामाजिक लेखा परिक्षणका लागि परिक्षक पालिकाबाटै पठाएको भएपनि विद्यालयले अँझैसम्म तयार नगरेको प्रमुख चौधरीले बताए । लेखा परिक्षण नभएको विषयमा यस भन्दा पहिले पनि भेरी माविमा विवाद उत्पन्न भएको थियो ।