राजापुरमा घर भत्किँदा १ घाइते, ५० लाखको क्षति


शक्ति परियार । राजापुर
बर्दियाको राजापुर बजारमा बिहीबार बिहान एक घर भत्किँदा एक जना घाइते भएका छन् । घाइते हुने अलिम महमद जसगढ हुन् । घाइतेको ढाडमा चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ । राजापुर नगरपालिका – ४ राजापुर बजारमा रहेको गौस महमद जसगढको दुई तले घर भत्किएको हो । २०४० सालमा बनेको घरको फाउन्डेसनसमेत पक्का नभएका कारण रातभरी परेको वर्षाले भत्केको हुनसक्ने प्रहरीको अनुमान छ ।

भत्केको घरमा पसलहरु रहेकाले क्षतिबारे एकिन गर्न समय लाग्ने भए पनि खाद्यान्न, लत्ता कपडा, फर्निचरलगायत सामानहरु भएकाले ५० लाख बढीको क्षति भएको हुनसक्ने इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक राधेश्याम सिंह सैथवारले जानकारी दिए ।