धानले गाँज हाल्न लाग्यो, मल नपाए उत्पादन घट्ने

नेपालगन्ज : बाँके जिल्लामा यो वर्ष असार मसान्तमै ९५ प्रतिशत रोपाइँ सकियो । साउन पहिलो सातामा अधिकांश किसानले रोेपेर सके । साउन लागेसँगै लगातार वर्षा भएर धानमा सिँचाइ पनि भयो । धानले गाँज हाल्ने बेला भएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल भन्छन्, ‘धानले गाँज हाल्ने बेलामा युरिया मल नहुँदा उत्पादनमा प्रभाव पर्नसक्छ ।’ असार २ गते यता बाँके जिल्लामा युरिया मलको अभाव छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले सहकारीमार्फत मल बिक्री गर्छ । कम्पनीका प्रमुख रमेश पौडेल ‘साउनको अन्तिमसम्म युरिया आउने’ सम्भावना मात्र रहेको बताउँछन् । यति गते नै आउँछ भन्ने उनी ढुक्कसाथ भन्न सक्दैनन् । कम्पनीमा २५ र २६ असारमा डीएपी र पोटास आएको थियो । अहिले ६० टन पोटासबाहेक युरिया र डीएपी सकिएको छ ।
त्यसो त, जिल्लामा माग अनुसार कहिल्यै पनि मल आपूर्ति हुने गरेको छैैन । जिल्लामा कम्तीमा पनि ६ हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डीएपी आवश्यक पर्छ तर त्यसको आधा पनि आपूर्ति हुँदैन । आपूर्तिभन्दा माग धेरै हुने भएकाले हरेक वर्ष रसायनिक मलको अभाव हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।