बर्दियामा ६ संक्रमित घरकै आइसोलेसनमा

गुलरिया नगरपालिकाका संक्रमित पत्रकार शुक्रबार बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोेलेसनमा पुगेर पनि ‘होम आइसोलेसन’मा बसेका छन्

नेपालगन्ज : बर्दिया जिल्लामा ६ जना कोरोना संक्रमित ‘होम आइसोलेसन’ मा बसिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीका अनुसार जिल्लाभरी ६ जना संक्रमित ‘होम आइसोलेसन’मा बसेकोमा एक जना निको भइसकेका छन् । बढैयाताल गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेबलाई कोरोना संक्रमण भएपछि ३ असारमा उनी जिल्लामा पहिलो पटक होम आइसोलेसनमा बसेका हुन् । उनी २१ दिन होम आइसोलेसनमा बसेर अहिले काममा फर्किसकेको कोरोना फोकल पर्सन चौधरीले प्रष्ट पारे ।
ठाकुरबाबा नगरपालिकामा २ जना प्रहरी र एक जना गाउँपालिकाका कर्मचारी पनि होम आइसोलेसनमा बसेका छन् । त्यस्तै मधुवन नगरपालिकाको महिला स्वास्थ्यकर्मी पनि होम आइसोलेसनमै छिन् । ‘नेपाल सरकारले होम आइसोलेसनमा बस्न सक्ने मापदण्ड बनाएको छ । त्यसको पालना गर्न सके होम आइसोलेसनमा बस्न सकिन्छ’, चौधरी भन्छन्, ‘उनीहरुको स्वास्थ्य अवस्थाबारे सम्बन्धित गाउँपालिकाको स्वास्थ्य शाखाले फलो अप गरिरहन्छ । जिल्लाका आइसोलेसनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य छ ।’ शुक्रबार गुलरिया नगरपालिकाका कोरोना संक्रमण पुष्टि भएका पत्रकारलाई बाँकेको खजुरास्थित क्यान्सर अस्पतालको आइसोेलेसनमा लगिएको थियो । उनी पनि त्यहाँबाट फर्केर ‘होम आइसोलेसन’मा बसेका छन् ।