बाढीमा बेपत्ता ३ को अवस्था अझैं अज्ञात

 मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिका बाढीमा बगेर बेपत्ता भएका तीन जनाको अवस्था अझै पत्ता लागेको छैन । अविरल वर्षापछि बुधबार आएको बाढीमा भजनी नगरपालिका वडा नं. ८ का ४ जना डुबेर बेपत्ता भएका थिए। एक जनाको सकुशल उद्दार गरिएको थियो ।
इलाका प्रहरी कार्यालय भजनीका अनुसार बेपत्ता हुनेमा जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरी र काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र विक रहेका छन्। हेमन्त शाहीको सकुशल उद्दार गर्न सफल भएको इप्रका भजनीले जनाएको छ ।
बुधबार रातिसमेत पानी परेर पानीको सतह बढ्दै जाँदा खोजी कार्यमा समस्या भइरहेको छ। बेपत्ता भएकाको खोजी कार्य भइरहेको ८ नं. वडाका वडाध्यक्ष पंकज चौधरीले बताए । मंगलबार रातिदेखि आएको वर्षाले भजनी नगरपालिकामा मात्रै २ हजार घर डुबानमा परेका छन् । बाढीबाट प्रभावितलाई हुलाकी राजमार्गसहित अग्लो स्थानतिर सार्ने कार्य भइरहेको छ ।
भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बाढीका कारण डुबानमा परेको जनकपुर, गोरचौउरा, दैलेखीटोलमा बिहीबार बिहानसम्म जान नसकिएको बताए ।‘ बाढी बढिरहेको छ, घटेको छैन, ती गाउँमा सुरक्षाकर्मीसमेत पुग्न सकेका छैनन्’, चौधरीले भने, ‘एक घरदेखि अर्को घरसम्म जान सकिने अवस्था नहुँदा क्षतिको यकिन गर्न पनि मुश्किल भएको छ। उद्दारमा समेत सकस भइरहेको छ।’