कैलालीको बाढीमा बेपत्ता ३ जनाकै शव फेला

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिकाबाट बुधबार बाढीले बगाएर बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय भजनीका जानकारीका अनुसार बाढीमा बेपत्ता भएका नगरपालिका ८ का चक्र विश्वकर्माको शव दिउँसो ३ बजे फेला परेको हो । बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा विकको फेला परेको हो । उनी बाढीका कारण समस्यामा परेका स्थानीयको उद्दार गर्ने क्रममा चिप्लिएर बाढीमा बेपत्ता भएका थिए । बाढीमा बेपत्ता भएका तीन जनामध्ये बिहीबार जनकपुरका ११ बर्षीय स्केल चौधरीको र शुक्रबार बिहान ४० वर्षिय ईश्वर शाहको शव फेला परेको थियो । बाढीले बगाएका अन्य तीन जनाको भने सकुशल उद्दार गरिएको थियो ।

बाढीका कारण कैलालीको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरि ६ हजार भन्दा बढी घरधुरी प्रभावित भएका थिए । तीमध्ये २ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरु अहिले विद्यालय, हुलाकी सडकलगायतका ठाउँमा बसिरहेका छन् ।