मुस्लिम समुदायले घरमै मनाए बकर ईद

 नेपालगन्ज: इस्लाम धर्मावलम्बीहरूको दोश्रो ठूलो पर्व बकर इद (इद उल अजहा) आज बाँकेका मुस्लिम समुदायले कोरोना कहरका बिच मनाएका छन् । तीन दिनसम्म धुमधमाका साथ मनाइने यो पर्व यसबर्ष भने कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गरेर घरमै मनाईएको छ । विगतका बर्षहरुमा विभिन्न मस्जित र वीपी चोकस्थित इदगाहामा ठूलो संख्यामा मुस्लिम समुदायका व्यक्तिले सामूहिक नमाज पढने गरेका थिए । सामाजिक सदभावको शहर नेपालगन्जमा मुस्लिम मात्र नभई हिन्दु समुदायका व्यक्तिहरु समेत एक आपसमा अंगालो हालेर तिन दिन सम्म इदको शुभकामना आदान प्रदान गर्दथे । तर, यसबर्ष नेपालगन्जमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि बकर इदको कुनै रौनक नै छैन । यसअघि मुस्लिम समुदायले धुमधामका साथ मनाउने सबैभन्दा ठुलो पर्व रमजान र ईदउलफित्र जस्तै बकर ईद पनि भिडभाड नगरी घरभित्रै मनाइरहेको ईस्लाम धर्मगुरु अब्दुल जब्बार मन्जरीले बताए ।
इदगाहमा नवाज पढेर एकापसमा शुभकामना आदान प्रदान गरेपछि मस्जितमा गएर जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । यसरी बलिदानी दिएको जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने चलन रहेको मदिना नुरी मस्जितका शिक्षक मोहम्मद जाकिर हुसेनले बताए । यसबर्ष भने कोरोना संक्रमणका कारण मस्जितमा कुर्वानी नदिइएर घरमै दिईएको उनी बताउँछन ।
इस्लाम धर्मगुरुहरुले पनी यसबर्ष कोरोना संक्रमणवाट मुलुकलाई बचाउन प्राथना गरेका छन । उनीहरुले सरकारले निर्देशीत गरेका स्वास्थ्य सम्वन्धी नीति नियमको पालना गर्दै सामाजिक दुरी कायम गरी घरमै पर्व मनाउन सम्पुर्ण मुस्लीम समुदायलाई आग्रह गरेका छन ।