बाढी प्रभावित क्षेत्रमा भैंसीराँगा मर्न थाले

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिकाको बाढी प्रभावित क्षेत्रमा पशु चौपाया मर्न थालेका छन । स्थानीयका अनुसार भजनीको बाढी प्रभावित क्षेत्रका पशुचौपायामा संक्रमण फैलिएको जानकारी दिएका छन् ।
भजनी नगरपालिका वडा न ८ खल्लाटोलकी लक्ष्मी बिकको ब्याउने भैंसी मरेको छ । सोमबार बिरामी परेको भैंसी मंगलबार बिहान मरेको हो । बाढीले अन्नपातसहित सबै गुमाएकी लक्ष्मीले भैंसीसमेत गुमाइन् । ‘दूध बेचेर भए पनि घरपरिवारको खर्च चलाउने आशा थियो । भैंसी म-यो’, उनले दुःखेसो पोखिन् ।
त्यस्तै, भजनी नगरपालिका ८ कांढाढिकका कटक शाहको पनि खेत जोत्ने रांगो मरेको छ । ‘एक्कासी बिरामी परेर म-यो । जोत्ने राँगो मरेपछि के गर्ने र हिउँदे खेती कसरी गर्ने भन्ने चिन्ता भएको छ’, उनले पीडा सुनाए । ठग्गा चौधरीका २ वटा ब्राखा मरेका छन् । स्थानीय खेमराज पाण्डेयका अनुसार पशुचौपायामा पखला, ज्वरो, -याल चुहाउने, खाना नखाने जस्ता लक्षण देखिएका छन् ।
सामाजिक अभियान्ता जयराज ढुङ्गानाले स्थानीयका पशुचौपाय मरेको फोटो फेसबुकमा पोस्ट् गरेपछि स्थानीयले आफ्ना पनि पशुचौपाया पनि मरेको भन्दै धेरै ब्यक्तिले फोन गर्न थालेको बताउँछन् । तत्काल उपचार नपाए धेरै पशुचौपायामा संक्रमण फैलिने खतरा भएको भन्दै बाढी प्रभावित क्षेत्रका किसानका लागि पशु चिकित्सक खटाउन सरकारसँग माग गरेका छन् ।