समुदाय स्तरको परीक्षणमा ८१ जनामा कोरोना !
नेपालगन्ज : बाँकेमा समुदाय स्तरमा गरिएका तीन हजार तीन सय ३८ परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार रेन्डम सेम्पलिङ विधिबाट गरिएको कूल परीक्षण र कन्ट्याक्ट ट्रेसिङको परीक्षण गरी २.४३ प्रतिशत कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्लाका कूल चार सय ७० कोरोना संक्रमितसँग समुदाय स्तरबाट पुष्टि भएको संख्या विश्लेषण गर्दा भने १७.२३ प्रतिशत रिपोर्ट पोजेटिभ आएको छ ।
केही सातादेखि जोखिममा रहेको समुदायमा रेन्डम सेम्पलिङ विधिबाट दुई हजार दुई सय दुई जनामा परीक्षण गर्दा ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । यो अवधिको कूल परीक्षणमा १.५४ प्रतिशत पोजेटिभ केश आएको छ । ती संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा थप एक हजार एक सय ३६ जनाको परीक्षण गर्दा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जुन परीक्षणको २.४३ प्रतिशत रिपोर्ट पोजेटिभ हो । रेन्डम सेम्पलिङ र कन्ट्याक्ट ट्रेसिङबाट पुष्टि भएका ८१ संक्रमित समुदायस्तरका हुन् । अधिकांशको कुनै ट्राभल हिस्ट्री देखिँदैन । जसमा जनप्रतिनिधि, डाक्टर, इन्जिनियर, निजामति कर्मचारी, व्यवसायीलाई कोरोना संक्रमण भएको छ । समुदाय स्तरमा कोरोना संक्रमण भएपछि बाँकेमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।