छोरी पाउने आमालाई ५ हजार सुत्केरी खर्च

राजापुर -८ पुरैनाकी सीता विक वडा कार्यालयबाट बाहिर निस्कँदै

शक्ति परियार । राजापुर
राजापुर नगरपालिका ८ पुरैना टोलीकी सीता विक नवजात शिशु बोकेर वडा कार्यालयबाट बाहिर निस्कँदै गर्दा उनको मुहारमा खुसी झल्किन्थ्यो । छोरी जन्माएकी विकलाई वडा कार्यालयले सुत्केरी खर्च वापत पाँच हजार रुपैयाँ दिएको थियो । विकले भनिन्, ‘कोरोनाको समयमा सुत्केरी भएँ । घरमा आर्थिक समस्या थियो । वडाले गरेको सहयोगबाट निकै खुसी छु ।’
बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ८ ले बढ्दै गएको लैंगिक विभेदको अन्त्य गर्न छोरी जन्माउने आमालाई पनि समान व्यवहार गर्नुपर्ने सन्देश दिने उद्वेश्यले सुत्केरी पोषण खर्च स्वरूप पाँच हजार दिन थालेको हो । सुत्केरीलाई यस्तो प्रोत्साहन जिल्लामै पहिलो पटक वडाले सुरु गरेको हो ।
समाजमा छोरालाई मात्र सम्मान गर्ने तर छोरीलाई अपहेलना गर्ने प्रवृत्तिको अन्त्य गर्न सुत्केरीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको राजापुर–८ का वडा अध्यक्ष चिन्तामणि आचार्य बताउँछन् । आचार्यले भने, ‘छोरी पाउने आमाले शिशु जन्मेको ३५ दिनभित्रमा वडाबाट जन्मदर्ता गरेमा यो सुविधा पाउँछन् ।’ वडाले यही आर्थिक वर्षदेखि सन्चालन गरेको कार्यक्रममा पहिलो पटक विकले सहयोग पाएकी हुन् ।

राजापुर–८ का वडाध्यक्ष चिन्तामणि आचार्य सीता विकलाई सुत्केरी खर्च पाँच हजार रुपैयाँ हस्तान्तरण गर्दै । फोटो : शक्ति परियार