राजापुर बजारमा किनमेल गर्नेको घुँइचो

राजापुुर बजार

शक्ति परियार । राजापुर
बर्दियाको राजापुुर बजारमा स्थानीयको चहलपहल बढेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी आइतबारदेखि लागू हुने गरी पाँच दिन निषेधाज्ञा जारी गरेपछि भौंराटप्पा क्षेत्रका स्थानीय दैनिक उपभोग्य सामग्री खरिद गर्न आउनेको घुँइचो लागेको हो ।
राजापुर नगरपालिका-७ का सुन्दर चौधरीले बजार बन्दको हल्ला सुनेपछि आफू सामान किन्न आएको बताए । उनी भन्छन् ‘बन्दाबन्दीले सताउनु सतायो । ३ महिना घरमै बसियो कमाई छैन अबका दिन अझै बढी कष्टकर हुने हो ।’
उनी जस्तै अधिकांशले निषेधाज्ञा अवधिका लागि सामान किन्न आएको बताएका छन् । राजापुर बजारमा सामान किन्दै गरेको अवस्थामा भेटिएका राजापुर-५ का रामकुमार चौधरीले भने, ‘बन्दाबन्दीको समयमा कसैले आर्थिक सहायता पनि गर्दैनन् । त्यसैले बेलैमा आवश्यक सामान समयमा नै लैजानु उचित होला ।’ बर्दियामा कोरोना संक्रमणको जोखिम दिन प्रतिदिन बढ्न लागेपछि यहाँका स्थानीय दैनिक जिविकोपार्जन कसरी गर्ने भन्नेमा निकै चिन्तित छन् । राजापुरका उद्योगी व्यवसायी पनि बन्दाबन्दीले जिविकोपार्जन गर्न निकै कठिन भएको बताउँछन् । कोरोनाका कारण भएको सीमा नाका बन्दले उपभोक्ताहरु भारतीय बजार नगएर स्थानीय बजारमा निर्भर छन् ।