अध्यक्ष शाहद्वारा जन्मदिनमा बालकलाई सहयोग
नेपालगन्ज : गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले जन्मदिनको अवसरमा बालकको उपचारमा सहयोग गरेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिका ८ हसनापुर टिटिहिरियाका परशुराम बुढा र लक्ष्मी बुढाको ५ महिने छोरा कुशलको उपचारका १० हजार सहयोग गरेका हुन् । २१ फाल्गुण २०७६ मा जन्मेका कुशलको टाउकोमा पानी जमेको छ । जन्मेको केही दिनमै उनको मेरुदण्डमा मासु पलाएपछि अप्रेसन गरिएको आमा लक्ष्मीले बताइन् । त्यसपछि टाउकोमा पानी जम्न थाल्यो । टाउकोको पानी अप्रेसन गरेर फ्याँकियो तर एक पटक मात्र फ्याँकेर नहुने चिकित्सकले बताएका छन् ।
गत असारमा छोरो बोकेर स्वदेश फर्किएकी लक्ष्मीले नेपालगन्जको भेरी अस्पतालमा उपचार गरिएको बताइन् । पानी जमेका कारण बच्चाको टाउको अस्वभाविक रुपमा ठूलो छ, दुई वटै खुट्टा बाङ्गा छन् । टाउकोको पानी फाल्न पाइप जोडिएको छ । भारतको गुजरात राजकोटमा मजदुरी गर्ने बुढा दम्पत्तिसँग सन्तानको थप उपचार गर्न पैसाको अभाव छ । उनको उपचारका लागि ५ लाख बढी खर्च भइसक्दा पनि रोग निको भएको छैन ।
बासका कार्यकारी निर्देशकसमेत रहेका शाहले बालकको जीवनरक्षा गर्न सहयोगका लागि अपिल पनि गरेका छन् । उनी भन्छन्, ‘बालकको उपयुक्त स्थानमा प्रभावकारी तवरले उपचार भए जीवन रक्षा हुने मलाई विश्वास छ । आउनुहोस् सक्दो सहयोग गरौं र कुशललाई कुशलताका साथ बचाऔं ।’