टीकापुरमा कोरोना रोकथाममा पौने तीन करोड

मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि गरिएका विभिन्न काममा २ करोड ७८ लाख ६६ हजार ४ रुपैयाँ १८ पैसा खर्च गरेको छ ।
टीकापुर नगरपालिका प्रमुख तपेन्द्र रावलले पत्रकार सम्मेलनमा खर्च विवरण सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले सबैभन्दा धेरै खर्च कोरोना संक्रमण रोकथाम, उपचार तथा क्वारेन्टाइन व्यवस्थापनमा एक करोड तीन लाख ४ हजार ८३८ रुपैयाँ खर्च गरेको छ । दोश्रो बढी खर्च लकडाउनका कारण प्रभावितलाई वितरणमा ७९ लाख ३५ हजार ५१० रुपैयाँ खर्च गरेको प्रमुख रावलले बताए ।
कोरोना संक्रमण रोकथाम, क्वारेन्टाइन व्यवस्थापन लागयतका कार्यमा संलग्नहरुलाई जोखिम भत्ताका लागि ३२ लाख ७८ हजार ५३३ रुपैयाँ, कोरोना परीक्षणमा आवश्यक स्वास्थ्य सामग्री भीटिएम, आरडीटी र पीपीइ खरिद गर्न १२ लाख ३८ हजार ८७५ रुपैयाँ खर्च गरेको छ।क्वारेन्टाइनस्थलको रुपमा प्रयोग गरिएका विद्यालय एवं स्थानहरुमा पंखा, बिजुली धारा, शौचालय व्यवस्थापनका लागि सामाग्री खरिद लगायतका कार्यमा १५ लाख १२ हजार ८७४ रुपैयाँ, कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आइसोलेसन व्यवस्थापनमा प्रदेशको सशर्त अनुदानमार्फत १० लाख ४० हजार, कोरोना भाइरसको संक्रमण रोकथाम सम्बन्धी विभिन्न काममा परिचालित भएका सवारी साधनको इन्धन खर्चमा ९ लाख ५१ हजार ६४८ रुपैयाँ, ती सवारी साधनको मर्मत सम्भारमा ५ लाख २ हजार ३९९ रुपैयाँ, कोरोना संक्रमण रोकथामको लागि समुदायमा स्वयंसेवक परिचालन कार्यक्रममा ७ लाख १६ हजार २८५ रुपैयाँ, विविध खर्चमा १ लाख ६७ हजार, १२२ रुपैयाँ, कोरोना रोकथाम तथा लकडाउन को प्रभावकारी कार्यान्वयनका लागि सचेतनामूलक सन्देश, सुचना प्रवाह र माइकिङमा ७८ हजार ९००, विभिन्न ठाउँबाट आएर अलपत्र परेका र रोकिएका आफ्ना नागरिकलाई ओसारपसारका लागि प्रयोग गरिएका सवारी साधनको भाडामा ६६ हजार र कोरोना संक्रमण रोकथाम, क्वारेन्टाइन व्यवस्थापन लगायतका कार्यमा संलग्न कर्मचारीको बीमाका लागि ६३ हजार २० रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ।

नगर कोषमा सहयोग
कोरोना कोषमा विभिन्न व्यक्तिहरुबाट १२ लाख ५३ हजार ९८२ रुपैयाँ सहयोग प्राप्त भएको थियो । संघीय सरकारबाट १४ लाख २० हजार १ सय, प्रदेश सरकारबाट ५३ लाख ४० हजार र टीकापुर नगरपालिकाबाट जम्मा २ करोड ३४ लाख २ हजार, ६६२ रुपैयाँ गरि जम्मा ३ करोड २५ लाख ४४ हजार ५ सय २२ रुपैयाँ नगरपालिकाको आव २०७६÷०७७ विपद व्यवस्थापन कोषमा जम्मा भएको थियो । त्यस्तै नगरपालिका ले ७ हजार २१६ घरधुरीका ३१ हजार ३ सय ७० परिवारलाई राहत वितरण गरेको थियो । जसमा १ लाख ५८ हजार ८० केजी चामल, १५ हजार १४० केजी दाल, ७ हजार ६० केजी नुन, १३ हजार १९९ केजी तेल, ५ केजी सोयाबिन, १४ हजार ९६ पिस साबुन वितरण गरेको थियो ।