बर्दियामा आजदेखि सुरु भयो ५ दिने निषेधाज्ञा

शक्ति परियार । राजापुर
जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बर्दियाले समुदायमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि आजदेखि जिल्लाभर निषेधाज्ञा सुरु गरेको छ ।
केन्द्रका संयोजक बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बाँसगढीस्थित बैंकका कर्मचारी, वडाअध्यक्ष तथा गेरुवा गाउँपालिकामा एक जना थुनुवामा कोरोना संक्रमणको पुष्टि भएपछि कोभिड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको बताए।
निषेधित अवधिभर औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यकबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाइने छैन। अनुमति प्राप्त सवारी साधन, झण्डावाल सवारी, निलो कूटनीतिक प्लेटका सवारी, लामो दूरीका मालवाहक सवारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय बाहेकका सबै निजी, सरकारी तथा सार्वजनिक सवारी साधन संचालनमा पूर्ण निषेध गरिएको छ ।
सुरक्षा, स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स तथा शव बोक्ने गाडी, दमकल, औषधि, तरकारी तथा फलफूल जस्ता अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा निषेध गरिएको प्रजिअ अधिकारीले बताए । साउन २५ गते आइतबारदेखि २९ साउन बिहीबार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गरिएको सूचना गरिएको छ ।