यातायात व्यवस्था, आन्तरिक राजस्व र नेपालगन्ज उपमहानगरको सेवा आइतबारबाट सुचारु हुने

नेपालगन्ज : कर्मचारीमा कोरोना संक्रमण भएपछि दुई सातादेखि बन्द रहेका नेपालगन्जका यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको सेवा आइतबारदेखि सुचारु हुने भएको छ ।

 यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत पूर्ण खत्री आइतबार कार्यालय खुले पनि सबै सेवा भने सुरु नहुने बताउँछन् । उनले मेरो खुसीसँग भने, ‘अर्को सूचना प्रकाशन नहुँदासम्म नामसारीको काम रोकिनेछ । सवारी नविकरण गर्दा आइतबारदेखि बुधबारसम्म मोटरसाइकल स्कुटर र बिहीबार र शुक्रबार बस, ट्रक, कार, जीप लगायतका ठूला सवारी नविकरण गर्ने गरी तयारी भइरहेको छ ।’
यातायात व्यवस्था कार्यालयका एक जना महिला कम्प्युटर अपरेटरमा कोरोना संक्रमण भएको थियो । उनी निको भइसकेकी छन् ।
सेवाग्राहीको चाप हुने अर्को सरकारी कार्यालय आन्तरिक राजस्वले पनि आइतबार आधा कर्मचारी परिचालन गरी सेवा सुचारु गर्ने तयारी गरेको कार्यालय प्रमुख प्रकाश पौडेलले बताए । उनले भने, ‘कोरोना निको भएका साथीहरु अझै सात दिन होम आइसोलेसनमै बस्नुहुन्छ । बाँकी रहेका कर्मचारीबाट कार्यालयको सेवा सुरु हुनेछ ।’
आन्तरिक राजस्वका अधिकृतसहितका ७ जना कर्मचारी र परिवारका सदस्य गरी १२ जनामा कोरोना संक्रमण भएको थियो । बिहीबार संक्रमित सबै डिस्चार्ज भइसकेका छन् ।
त्यस्तै, जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शिल गरिएको नेपालगन्ज उप–महानगरपालिका कार्यालय पनि आइतबारदेखि सेवा सुचारु नगर प्रमुख डा. धवल शम्शेर राणाले बताएका छन् । ‘सुरुक्षाका मापदण्ड पूरा गरि उप–महानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा निरन्तरता दिन लागेका छौं । उपमहानगरका २३ वटै वडा कार्यालय पनि आइतबारदेखि सुचारु हुने राणाले बताए । उपमहानगरका जनप्रतिनिधि र अधिकृत स्तरका कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय शिल गरिएको थियो ।
उप–महानगरपालिकामामा कोरोनाविरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ । सेवाग्राहीले कार्यालयमा प्रवेश गर्नासाथ साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, ज्वरो नाप्ने व्यवस्था समेत मिलाइएको छ । उप–महानगरपालिकाले कार्यालय प्रवेश गर्दा सेवाग्राहीलाई मास्क प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बुधबारको बैठकले बन्द रहेका सरकारी कार्यालयको सेवा आइतबारदेखि सुचारु गर्ने निर्णय गरेको केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । उनले भने, ‘अहिले कोरोना संक्रमण क्रमशः न्यूनिकरण हुँदै गएको छ । चार सय जनाको परीक्षण गराउँदा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसैले बन्द रहेका सबै सरकारी कार्यालयको काम उच्च सावधानी अपनाउँदै सुरु हुनेछ ।’