कोरोना मुक्त नरैनापुरमा ८२औं दिनमा फेरि संक्रमण पुष्टि, भारतबाट माइत आएकी चेलीलाई कोरोना

नेपालगन्ज : कोरोना मुक्त बाँकेको नरैनापुर गाउँपालिकामा ८२औं दिनपछि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार २१ जेठपछि नरैनापुरमा कसैको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थिएन । आइतबार नरैनापुर–५ का २५ वर्षकी महिलालाई कोरोना संक्रमण भएको हो । उनी भारतबाट आएर माइती घरमा बसेकी थिइन् । उनलाई शंका लागेर कोरोना परीक्षण गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकामा जेठको महिनामा मात्र एक सय १९ जनालाई कोरोना संक्रमण भएको थियो । ४ जेठमा नरैनापुर–५ का २५ वर्षका युवाको ज्यान गएको थियो भने अरु सबै कोरोना निको भइसकेका छन् ।
आइतबार बाँके जिल्लामा नरैनापुरका एकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा नेपालगन्जका ५ र कोहलपुरका २ जना छन् । नेपालगन्ज १ मा ३ वर्षीया बालिकालाई पनि कोरोना भएको छ । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको कूल संख्या आठ सय २९ पुगेको छ भने आइसोलेसनमा दुई सय ११ जनाको उपचार भइरहेको छ । ६ सय १४ जना कोरोना निको भएर घर फर्किसकेका छन् भने ४ जनाको कोरोनाबाट ज्यान गएको छ ।