बर्दियामा जंगली हात्तीद्वारा बाली क्षति

शक्ति परियार । राजापुर
बर्दिया राष्ट्रिय निकुञ्जको मद्यवर्ती क्षेत्रमा पर्ने राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा जंगली हात्तीले आतंक मच्चाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र भारतीय सिमावर्ति जंगलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, मकै मास, भटमासलगायतका बालीमा क्षति गर्ने गरेको गेरुवा –६ नौरंगाका कुमार लामिछाने बताउँछन् । उनले भने, ‘ वन्यजन्तु रोक्न बनाइएको विद्युत करेन्ट प्रवाह गर्ने तारवारमा वनमारा झारले बाधा पु-याएको र विग्रिएको एनालाइजर मेसिन मर्मत नगरिदा आफूहरुले क्षति व्यहोर्नु परेको हो ।’
जंगली जनावरहरुको क्षति रोक्न र स्थानीयलाई सुरक्षित गर्न आफूहरु निरन्तर लागिरहेको असारे गौडी उपभोक्ता समितिका अध्यक्ष तारा मल्लले बताए । तारवारमा करेन्ट प्रवाह गर्ने एनेलाइजर मेसिनमा खराबी आएको र मेसिन मर्मत भएर आएको भए पनि तार बाँधिएका पोलहरु ढलेको, जमिनमा लत्रिएकाले मर्मतको तयारी भइरहेको उनको भनाइ छ । जंगली हात्ती धपाउन स्थानीयहरुले रातभर जाग्राम बस्नुका साथै आगो बाल्ने हो–हल्ला गर्छन् ।