भेरी अस्पतालका २ विशेषज्ञ डाक्टर, ६ नेपाली सेनासहित बाँकेमा ३३ जनामा कोरोना

नेपालगन्ज :  बाँके जिल्लामा बिहीबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पतालका दुई जना विशेषज्ञ स्तरका महिला डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । महिला डाक्टरका पति विशेषज्ञ डाक्टरलाई यसअघि नै कोरोना संक्रमण भइसकेको थियो । त्यसैगरी बिहीबार थप ६ जना नेपाली सेनालाई पनि कोरोना भएको छ । संक्रमितहरु नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी, राप्ती सोनारी र खजुरा गाउँपालिकाका हुन् । जसमा १२ महिला र २१ पुरुष छन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ५३ पुगेको छ । कोरोना निको भएर घर फर्केका ६ सय ८२ र २ सय ६५ जना आइसोलेसनमा छन् । कोरोनाबाट अहिलेसम्म जिल्लामा ६ जनाको ज्यान गइसकेको छ ।