बाँकेमा ९ पुरुष र ७ महिला संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा मंगलबार १६ जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ९ पुरुष र ७ जना महिला संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा नेपालगन्जको होटल सिटी प्यालेस, गनापुरको खुला कारागार, नेपालगन्जकै होटल इन्द्रेणी, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कृषि तालिम केन्द्र खजुरा र नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसनका रहेका छन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमण निको भएर घर फर्कने ७ सय ४६ जना पुगेका छन् । जिल्लामा कूल कोरोना संक्रमितको संख्या एक हजार ४३ रहेकोमा २ सय ९१ जना आइसोलेसनमा छन् भने ६ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।