नेपालगन्जका पत्रकार भण्डारीलाई कोरोना संक्रमण

नेपालगन्ज : पत्रकार दामोदर भण्डारीलाई लक्षणसहितको कोरोना संक्रमण भएको छ । भण्डारी नेपालगन्जको सदभाव दैनिकका सम्पादक/प्रकाशक, सेतोखरी डटकमका सम्पादक र रेडियो सदभावका प्रबन्ध निर्देशक हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या रहेको छ । ‘सोमबार बिहानदेखि ज्वरो, रुघाखोकी र श्वास प्रश्वासमा समस्या भएको, दिउँसोदेखि एक्कासी स्वास्थ्य समस्या बढेपछि फिजिसियन चिकित्सकलाई देखाउँदा एक्सरे रिपोर्टमा छातीमा दाग देखिएको र पीसिआर टेस्ट गराउँदा मङ्गलबार कोरोना रिपोर्ट पोजेटिभ आएको’ खबर भण्डारीको सम्पादनमा रहेको सेतोखरी अनलाइनले समाचारमा उल्लेख गरेको छ । उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ ।