बन्ने भयो बर्दियामा पीसीआर ल्याब

बजेटको सुनिश्चितता भएपछि एक महिनाभित्र संचालन तयारी

गुलरिया : दुई महिना अघि कोरोना परीक्षणका लागि ल्याव स्थापना गर्ने तयारीमा रहेको बर्दियामा बल्ल पीसीआर प्रयोगशाला स्थापना हुने भएको छ । मंगलबार जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकरप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले जिल्ला अस्पताल बर्दियाको हाताभित्र ल्याव संचालन गर्ने निर्णय गरेको बर्दियाको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । ‘साविकको जिल्ला विकास समितिको मौज्दात कोषमा रहेको बजेटवाट एक करोड रुपैया दिने निर्णय गरीएको छ’ उनले भने ‘अपुग रकम जिल्लाका आठवटै स्थानीयतहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।’
पीसीआर ल्याव निर्माण, संचालन तथा व्यवस्थापन समितिका संयोजक एवम जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकरप्रसाद चौधरीका अनुसार बजेटको सुनिश्चितता भएसंगै प्रि कास्ट प्रविधिको भवन निमार्णका लागि निर्माण कम्पनीसंग प्रकृया अघि बढेको छ । ‘निर्माण कम्पनीले १५ दिनभित्र संरचना निर्माण गरीसक्ने बताएको छ’ संयोजक चौधरीले भने ‘हामी अवको एक महिनाभित्र ल्याव संचालनमा ल्याउने तयारीमा छौ ।’
पीसीआर ल्यावका साथै बर्दियामा लक्षणसहितको संक्रमित देखिएमा उनीहरुलाई राख्न भेन्टिलेटर सहितको सुविधा भएको आईशोलेसन निर्माणको समेत तयारी थालिएको छ । महिला विकास कार्यालयको भवनमा उक्त आईशोलेसन निर्माण गरीने तयारी भएको प्रमुख जिल्ला अधिकारी अधिकारीको भनाई छ ।