बाँकेमा १७ दिनमा ३१ प्रतिशत कोरोना वृद्धि

भदौ महिनामा हरेक दिन औसत २० जनाका दरले संक्रमित वृद्धि

नेपालगन्ज : बाँके जिल्लामा विगत १७ दिनमा ३१ प्रतिशत कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार १ भदौदेखि १७ गतेसम्म मात्र जिल्लाभर ३ सय ४३ जनामा कोरोना पुष्टि भयो । जुन जिल्लाको कूल कोरोना संक्रमण एक हजार ९४ को ३१ दशमलव ३५ प्रतिशत हो । कोरोनाबाट मृत्युलाई आधार मान्ने हो भने जिल्लाको कूल मृत्यु ६ को आधा ३ जनाको मृत्यु त यही १७ दिनमा मात्र भएको छ । मृतक सबै नेपालगन्जका हुन् ।
यी दिनमा लगातार कोरोना पुष्टि भएको छ । कुनै दिन पनि खाली छैन । सबैभन्दा बढी संक्रमण १० गते ७७ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा ५१ जना नेपाली सेनाकै थिए । सबैभन्दा कम १ भदौमा ४ जनामा मात्र भएको छ । जिल्लामा औसत रुपमा दैनिक २० जना व्यक्तिमा कोरोना संक्रमण भइरहेको छ । बुधबारसम्म जिल्लामा कूल कोरोना संक्रमित एक हजार ९४ जनामध्ये ७ सय ५९ जना डिस्चार्ज भइसकेका छन् भने तीन सय २९ जना आइसोलेसनमा छन् ।