साढे २६ लाखका अवैध सामानसहित ८ पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्ती क्षेत्रबाट नेपाल प्रहरी र शसस्त्र प्रहरी सीमा सुरक्षा बलले डेढ महिनामा ८ जना व्यक्ति पक्राउ र साढे २६ लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।
टीकापुर नगरपालिका–९ को सत्ती भन्सार कार्यालयमा चालू आर्थिक वर्षको साउन र १८ भदौसम्म २६ लाख ४८ हजार ९ सय ७१ रुपैया बराबरको अवैैध रुपमा नेपाल भित्र्याउन लागेको सामान प्रहरीले पठाएको भन्सार कार्यालय प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिए । डेढ महिनाको अबधिमा सबैभन्दा बढी नेपाल प्रहरीले १८ लाख ३० हजार ७ सय ४८ रुपैयाँ बराबरको र शसस्त्र प्रहरीले ८ लाख १८ हजार २ सय २३ रुपैयाँ बराबरको माल सामान पक्राउ गरि कारबाही को लागि भन्सारमा बुझाएका हुन् । ८ जना व्यक्ति पनि पक्राउ परेका छन् । सामान तस्करीमा संलग्न भइ पक्राउ परेका व्यक्तिबाट धरौटी वाफत १८ लाख ७८ हजार १ सय ५८ समेत राजस्व उठेको भन्सार प्रमुख चौरसियाले बताए ।
शसस्त्र प्रहरी सीमा सुरक्षा बल खक्रौलाका शसस्त्र प्रहरी निरीक्षक पदमराज भट्टका अनुसार भन्सारमा बुझाएका सामानहरुमा कपडा, मोबाइल पार्टस, सुर्तीजन्य पदार्थ सुर्ती बिँडीलगायतका रहेका छन् ।