सामुदायिक कुकुरको स्याहारमा पत्रकार गणेश

मान बहादुर ठकुल्ला । टीकापुर
प्रतिष्ठित पेशा व्यवसायमा आवद्ध भएर व्यक्तिगत लाभका लागि अरु पनि काम गर्ने त धेरै भेटिन्छन् । तर सेवा गर्नका लागि फरक काम गर्ने कमै व्यक्तिमध्ये कैलालीका पत्रकार गणेश क्षेत्री । स्थानीय टीकापुर दैनिकका समाचारदाता क्षेत्रीले विगत दुई वर्षदेखि भोकै रहेका र घाइते सामुदायिक कुकुरको आहार र औषधोपचारमा जुटेका छन् । लकडाउनले समस्यामा परेका कुकुरहरुलाई उनी दैनिक साँझ बिहान खाना खुवाउँछन् ।
‘कुकुरलाई यमराजको दुत भनिन्छ । वर्षको एक दिन तिहारमा कुकुर तिहार आउँदा खोजीखोजी माला र टीका लगाएर पूजा पनि गरिन्छ । अरु बेला कुकुरलाई कसैले वास्ता नगरेको देखेपछि म सेवामा लागेको हुँ’, पत्रकार क्षेत्री भन्छन् । उनले कुकुरलाई दैनिक रुपमा लगभग पाँच किलो चामलको भात पकाउँछन् । बाटोमा कुकुर देख्ने बितिकै दया लागेर आउने र जति हतारमा भएता पनि कुकुरमा बिस्कुट, पाउरोटी खुवाएर मात्र हिड्ने गरेको उनले बताए ।
पत्रकार क्षेत्रीले लम्कीमासमेत ३ वटा कुकरलाई बिस्कुट वा पाउरोटी खुवाउन एक किराना पसललाई समय समयमा हिसाब किताब गर्ने सर्तमा जिम्मा दिएको बताउँछन् । त्यस्तै उनले बिरामी भएका कुकुरलाई जानकी गाउँपालिकाका पशु प्राविधिक मोहन चौधरीको सहयोगमा उपचार गर्ने गरेको, गर्भपती हुन नदिन महिलालाई लगाउने संगिनी सुई लगाइदिने गरेको जानकारी दिए ।