यसरी खुल्यो नेपालगन्जका २ ठाउँमा फुड बैैंक…

केही मनकारीको सहयोगबाट फुड बैंकको सेवा शुभारम्भ भएको छ, अब अरु सहयोगी मनहरुलाई दिन खोलेर सहयोग गर्न आयोजकको आग्रह

नेपालगन्ज : भनिन्छ, जहाँ इच्छा, त्यहाँ उपाय । १४ भदौंमा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले सिमरा बाराको फुड बैंकको फोटोसहित फेसबुकमा एउटा स्टाटस लेखे, ‘नेपालगन्जमा फुड बैंक स्थापना गर्न सकिएला ? जहाँ हुनेले सहयोग गर्ने र नहुनेले लैजाने व्यवस्था मिलाउन सकियोस् । सबैको सुझावको अपेक्षा ।’
उनलाई धेरैले उत्साही बनाए । पहिलो पोस्ट्को सकारात्मक प्रतिक्रिया पाएपछि १७ भदौमा शाहले अर्को स्टाटस लेखेर सहयोग गर्न चाहनेलाई आव्हान नै गरे । १९ भदौमा मनकारी र सहयोगीको जुमबाट बैठक डाके । २२ भदौमा उपमहानगरपालिकासँग पनि छलफल चलाए । यी दुई बैठकले झन आशावादी बनायो । नेपालगन्ज उपमहानगरपालिका, भृकुटीनगर टोल विकास संस्था, पूर्णतारा फाउण्डेशन, कृष्णप्रसाद श्रेष्ठ, किरण आचार्य, शोभा शाह, सुमन गिरी श्रेष्ठ, सुनिता बास्कोटा, मीना श्रेष्ठलगायत एक दर्जन संंस्था र व्यक्तिले सहयोग गरिसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका, गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखा र आइएचआरसीको सहकार्य, बास र रोटरी क्लब अफ नेपालगन्जको संयोजन तथा व्यवस्थापनमा फुड बैंक सञ्चालनमा आएको सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह बताउँछन् ।
गरिव, असहायहरुलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको फुड बैंकको बुधबार नेपालगन्जको अस्पताल रोडमा पहिलो फुड बैंकको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले संयुक्त रुपमा उद्घाटन गरे । ‘हुनेले दिऔं, नहुनेले लैजाऔं’ भन्ने मुख्य नारा लेखिएको फुड बैंकको अर्को शाखा कारकादोँ चोकमा छ । अस्पताल रोडको फुड बैंकको बासले तथा कारकाँदोमा रहेको फुड बैंकको व्यवस्थापन र संयोजन रोटरी क्लब अफ नेपालगन्जले गर्नेछ ।
शाहका अनुसार फुड बैंकमा ४ हजार किलो चामल, एक सय ५० किलो दाल, एक सय किलो नुन संकलन भइसकेको छ । ‘अस्पताल रोडमा हरेक बुधबार र कारकाँदोमा हरेक बिहीबार गरी हप्तामा दुई दिन वितरण हुने खाद्यान्न एक जना व्यक्तिले २ किलो चामल, आधा किलो दाल र एक पोका नुन लैजान पाउँछ तर खाद्यान्न दान गर्न चाहनेहरुका लागि कुनै सीमा छैन । जति पनि सहयोग गर्न सकिन्छ’, शाहले आव्हान गरे ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख राणाले फुड बैंकका लागि उपमहानगरपालिकाका तर्फबाट ५ लाख बराबरको खाद्यान्न सहयोग गर्ने बताए । उनले आफ्नो १ महिना बरावरको तलब, भत्ता बापतको रकम ५० हजार सहयोग गर्ने घोषणा पनि गरे । सत्कर्म गर्नेहरुलाई साथ र हौसला दिने पनि जोडिँदै जान्छन्, यही कुरा नेपालगन्जमा फुड बैंक स्थापना गर्दा चरितार्थ भएको छ । केही मनकारीको सहयोगबाट फुड बैंकको सेवा शुभारम्भ भएको छ । अब अरु सहयोगी मनहरुलाई दिन खोलेर सहयोग गर्न आयोजकको आग्रह छ ।