तीन स्वास्थ्यकर्मीसहित बर्दियामा ३९ जनामा कोरोना

गुलरिया : बर्दियामा मंगलबार तीनजना स्वास्थ्यकर्मी सहित ३९ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार पछिल्लो २४ घण्टामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा गरिएको परिक्षणमा २३ जना र भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्गमा गरिएको परिक्षणमा पुष्टि भएका २३ जना मध्य २२ जना बाँसगढी र १ जना बढैयातालका भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । जसमध्य बाँसगढीका एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण भएको छ । बाँकी केही दिन अघि बाँसगढी स्थित चौधरी गु्रपको चाउचाउ कम्पनीमा कार्यरत मजदुरहरुमा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा आएका घर परिवारका व्यक्तिहरु हुन ।
त्यस्तै भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएका मध्य बारबर्दिया र गुलरियाका ६/६ जना, बढैयातालका २ र गेरुवा र राजापुरका १/१ जना रहेका छन । जसमध्य बढैयातालका २ जना स्वास्थ्यकर्मी हुन । यो संगै जिल्लामा कुल संक्रमितको संख्या ५ सय ९५ पुगेको छ भने ४ सय ३२ जना कोरोना जितेर घर फर्किएका छन ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा मंगलबार बाँकेका १३ जनामा समेत कोरोना संक्रमण देखिएको छ। जसमध्ये नेपालगन्जका ८ जना, राप्तीसोनारीका २, खजुराका १, बर्दियाको गेरुवा गाउँपालिका र कैलाली लम्कीचुहाका १/१ जना रहेका छन ।