जन्मदिनमा साहित्यकार किरण आचार्यद्वारा थारु भाषाको कथा संग्रह सँपरजुवा विमोचन

नेपालगन्ज : साहित्यकार किरण आचार्यले तेस्रो कृति थारु भाषाको सँपरजुवा प्रकाशित गरेकी छन् ।
साहित्यकार आचार्यको ६३औँ जन्मदिनको अवसरमा सोमबार नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित उनकै निवासमा सर्वदा साहित्य सङ्गम, नेपालगन्जले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री फतेहसिंह थारु र राष्ट्रिय प्रज्ञा परिषद्का पूर्वसदस्य सचिव साहित्यकार सनत रेग्मीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । ८० पृष्ठको पुस्तकमा सँपरजुवालगायत २० वटा कथाहरु प्रकाशित भएका छन् ।साहित्यकार सनत रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री थारु, कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु चौधरी, पत्रकार पूर्णलाल चुके र लेखकका पति प्रा.डा. जनार्दन आचार्यले र सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरि ‘कोपिला’ ले कृति र कृतिकारको बारेमा चर्चा गरेका थिए । लेखक/संकलक आचार्यले उक्त पुस्तक र थारु भाषा साहित्यबारे धारणा राखेकी थिइन् । लेखक आचार्यका यस अघि ‘अस्तित्व’ र अनुभूति नामका दुई लघु कविता संग्रह प्रकाशित भइसकेका छन् ।