कोरोना संक्रमणपछि उप–प्रमुख उमाले भनिन्, ‘खोकी लागेको बाहेक मेरो स्वास्थ्य ठीक छ’

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापालाई पनि कोरोना संक्रमण भएको छ ।
निरन्तर खोकी लागेपछि परीक्षण गराउँदा मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्ज–१ स्थित निवासको होम आइसोलेसनमा बसिरहेकी उपप्रमुख थापा मगरले मेरो खुसीसँग मोबाइल सम्पर्कमा भनिन्, ‘खोकी लागिरहेको छ । यो वाहेक मेरो स्वास्थ्य अवस्था ठीक छ ।’ उनले कोरोना संक्रमणबारे नगरवासीसँग आग्रह गरिन्, ‘कोरोनालाई सामान्य नठानौं । मास्क लगाउने, साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउनेलगायतका सुरक्षाका विधि सबैले अपनाऔं ।’
नेपालगन्जमा लकडाउन सुरु हुनभन्दा अघिदेखि नै उनी कोरोना सचेतना, रोकथाम र नियन्त्रणमा निरन्तर खटेकी थिइन् । नेपालगन्ज–८ मा एकै टोलका २५ जनालाई कोरोना संक्रमण भएका बेलामा स्थानीयले कोरोना परीक्षण गराउन नमान्दा नगरप्रमुख डा.धवल शम्शेर राणा र उप–प्रमुख थापा मगरले कोरोना परीक्षण गराएर समुदायलाई कोरोना परीक्षणका लागि उत्प्रेरणा जगाएका थिए । नगर प्रमुख राणा र उपप्रमुख थापामगरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।