बाल विवाह न्यूनिकरणका लागि बाँकेका पत्रकारद्वारा कार्ययोजना निर्माण

नेपालगन्ज : बाँकेमा क्रियाशील पत्रकारले बाल विवाहका खोजमूलक समाचार प्रकाशन र प्रसारण गर्न कार्ययोजना बनाएका छन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपालले सोमबार र मंगलबार २ दिनसम्म नेपालगन्जमा आयोजना गरेको बाल विवाह न्यूनिकरण विषयक कार्यशालामा पत्रकारले कम्तीमा एक महिनादेखि बढीमा तीन महिनाको कार्ययोजना बनाएका हुन् । महिला र पुरुष पत्रकारले छुट्टा छुट्टै रुपमा कार्ययोजना बनाएका हुन् । कार्ययोजनामा खोजमूलक र स्थलगत समाचार संकलन, रेडियोमा एएसपी उत्पादन, बाल विवाहबारे अन्तर्वार्ता लिने, बाल विवाहबारे नीतिगत व्यवस्था र बाल विवाहको अवस्था सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्ययोजना निर्माणमा सहजकर्ता भीम अवस्थीले सहजीकरण गरेका थिए । स्याक नेपाल बाँकेका बाल विवाहरोकथाम परियोजनाका प्रबन्धक जगदिश थापाले परियोजनाबारे जानकारी गराउँदै बाल विवाह न्यूनिकारणमा पत्रकारहरुको महत्वपूर्ण भूमिका भएको बताएका थिए ।


त्यसैगरी बाल विवाह र मिडिया शीर्षकमा पत्रकार शंकरप्रसाद खनाल र रुद्र सुवेदीले सहजीकरण गरेका थिए । उनीहरुले बाल मैत्री सञ्चार निर्देशिका २०७३ र पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) का विषयमा चर्चा गरेका थिए ।