किन मुहार फेरेन कैलालीको सत्ती बजारले ?

सत्तीमा रहेको पदमप्रकाशेश्वर मन्दिर मन्दिर ५०० वर्ष पुरानो मानिन्छ । पूरातात्विक महत्वको यो मन्दिर अझैं पुरानो रहेको बताइन्छ

मानबहादुर ठकुल्ला । टीकापुर
सशस्त्र द्वन्द्वपछि चहलपहल सेलाएको सयौँ वर्ष पुरानो सत्ती बजारले आफ्नो मुहार फेर्न सकेको छैन ।
कैलालीकै चर्चित बजारका रूपमा स्थापित सत्ती बजारले शान्ति स्थापनापछि पनि मुहार फेर्न सकेन । सशस्त्र द्वन्द्वपछि विस्थापित भएका त्यहाँका सरकारी कार्यालय तथा ठूला व्यापारी पुनः स्थापित हुन नसक्दा व्यापारिक दृष्टिकोणले सत्ती पछाडि परेको हो । सशस्त्र द्वन्द्वका बेला यहाँ रहेका प्रहरी चौकी, साल्ट ट्रेडिङ, वाणिज्य बैंक पशु क्वारेन्टाईन राष्ट्रिय बाणिज्य बैकको सटही काउन्टरलगायत दर्जन बढी कार्यालय विस्थापित भएका थिए । शान्ति स्थापनापछि प्रहरी चौकी राष्ट्रिय बाणिज्य बैंक, सत्ती भन्सार कार्यालयलगायत केही कार्यालय पुनःस्थापना भएका छन् तर बजार भने स्थापित हुनसकेको छैन । ‘गत वर्ष वाणिज्य बैंक पनि पुनःस्थापना भएको छ । अझै आधा दर्जन सरकारी कार्यालय पुन स्थापना हुन सकेका छैनन्’, साविक नारायणपुर गाविसका पूर्वअध्यक्ष फकिरसिंह कडायत भन्छन्, ‘साल्ड ट्रेडिङको कार्यालय, बैंकको सटही कार्यालय, पशु क्वारेन्टिन, चौगुर्दीस्थित प्रहरी चौकी, चौगुर्दीस्थित छोटी भन्सार, खाद्य संस्थानको कार्यालय, जस्ता कार्यालय अझै पुनःस्थापना हुनसकेका छैनन्, सरकारी कार्यालय भए पो यहाँको विकासमा मद्दत पुग्छ ।’
पूर्वअध्यक्ष कडायतकाअनुसार सत्ती बजार हटिया बजारका रूपमा स्थापना भएको बजार हो । यो बजार हटिया बजारका रूपमा विकास गरिएको सत्तीपछि खाद्यान्न खरिद बिक्रीका रूपमा विकास भयो । ‘यहाँ पदमप्रकाशेश्वर मन्दिर छ । त्यो मन्दिर ५०० वर्ष पुरानो रहेको बताइन्छ, मन्दिर हेर्दा पनि यो बजार अझ पुरानो हो भनेर बुझ्न सकिन्छ’, पूर्वअध्यक्ष कडायत भन्छन्, ‘यहाँ दर्जनौँ ठूला उद्योग र मिलहरु थिए । सशस्त्र द्वन्द्वमा सबै बन्द भए । दुगडलगायतका राष्ट्रियस्तरका व्यापारीले व्यापार गर्थे, उनीहरु सबै विस्थापित भए । उनीहरु अहिलेसम्म फर्कन सकेका छैनन् ।’
सशस्त्र द्वन्द्व भन्दा अगाडि यहाँ निकै चहलपहल र व्यापार हुन्थ्यो । किनमेल गर्ने मानिसको निकै भीडभाड हुन्थ्यो । अन्य समयभन्दा सत्ती बजारमा धान, गहुँ खरिद बिक्रीका समयमा बढी भीडभाड लाग्ने गर्थ्यो । कैलालीका पूर्वी क्षेत्र सुखड, पहलमानपुर, भजनी, बौनिया, लम्की क्षेत्रका किसानले धान र गहुँ बिक्रीका लागि सत्तीबजार पुग्थे। ‘कैलालीका आधा नागरिकको किनमेल गर्ने, खाद्यान्न बिक्री गर्ने बजार सत्ती थियो’, स्थानीयवासी नवराज ढुङ्गानाले भन्नुभयो, ‘हाल यहाँ व्यापारी आउन छाडे । यहाँ धान, गहुँ खरिद गर्नका लागि भारतीय नागरिकसमेत आएर बस्ने गर्थे । यहाँको अन्नपात खरिद गरेर उनीहरुले लिने गर्थे र पैसा दिएर जान्थे ।’ हाल ठूला व्यापारी आउन नसकेको उनी बताउँछन्।
खाद्यान्न खरिद बिक्री हुने भएकाले सत्ती बजारलाई गल्लामण्डीका रूपमा पनि चिनिथ्यो । स्थानीय देवेन्द्र जैशी त्यो बेला यहाँका घरहरु स–साना हुन्थे तर खाद्यान्नका थुप्रा भने घरभन्दा ठूला रहेको सम्झन्छन् । ‘‘यहाँ खरिद गरेको खाद्यान्न केही सिधैँ भारततिर लगिन्थ्यो भने केही यतै कुटानी पिसानी गरेर बिक्री वितरण गरिन्थ्यो”, उनी भन्छन्, ‘साविकको नारायणपुर गाविसमा एक दर्जन बढी कुटानी पिसानी गर्ने मिल खोलिएका थिए । मिल खुलेका कारण यहाँका धेरैले रोजागरीसमेत पाएका थिए । यहाँका नागरिकलाई जीविकोपार्जनमा टेवा पुगेको थियो ।’
स्थानीय सरकारदेखि सबै तहका सरकारले सशस्त्र द्वन्द्व र अन्य असुविधाका कारण पलायन भएका व्यापारी वा लगानीकर्तालाई फर्कने वातावरण बनाउन माग गर्दै आएका छन् । ‘यहाँका राजनीतिक दलसहित स्थानीय नागरिकले वर्षेनी सरकारलाई ठूला उद्योग र कार्यालय पुनःस्थपना गरिदिन माग गर्दै आएका छन्’, सती बजार व्यवस्थापन समितिका अध्यक्ष पहल बस्नेत भन्छन्, ‘पछिल्लो समय स्थानीय सरकारले पनि माग उठाइरहेको छ, तर सत्ती बजारको मुहार फर्कने आशा हराउँदै गएको छ ।’ टीकापुर नगरपालिका वडा न ७ का वडाध्यक्ष रामलाल चौधरीले भने, ‘करौडौँ लगानीका संरचना खिया लागेर खेर गएका छन् । सरकारले यी संरचना मर्मत गरी प्रयोगमा ल्याउन सके करोडौंको सम्पत्ति जोगाउन सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *