२६ ग्राम ब्राउन सुगरसँगै १ भारतीयसहित २ पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा शुक्रबार एकै दिन २६ ग्राम लागू औषध ब्राउन सुगरसहित २ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् ।
इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले शुक्रबार दिउँसो करिब १ः३० बजे टीकापुर नगरपालिका ७ बेलुवामा भारतको लखिमपुर खिरी जिल्लाको सुरतनगर ग्रामपञ्चायत इन्द्रनगर वर्ष ३३ का जसपाल सिंहलाई २० ग्राम खैरोहिरोइनसहित पक्राउ गरिएको इप्रका टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।
त्यस्तै, टीकापुर ७ सुनाहाफाँटाबाट लागुऔषधसहित गौरीगंगा नगरपालिका ७ मसुरियाका २२ वर्षका विवश बम पक्राउ परेका छन् । प्रहरी चौकी सतीका प्रहरी नायव निरीक्षक लोकेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले शुक्रबार साँझ ४ बजे पक्राउ गरेको इप्रकाले जानकारी दिएको छ । बमबाट ६ ग्राम खैरोहिरोइनसहित पक्राउ गरेको बमले बताए ।
टीकापुर क्षेत्रबाट गत वर्ष लागूऔषध ओसारपोसार तथा सेवनमा संग्लग्न २४ घटनामा ४९ जना पक्राउ परेको र ८ जना फरार रहेको जानकारी इप्रका निमित्त प्रमुख बमले जानकारी दिए ।
प्रहरीले गत वर्ष टीकापुर प्रहरीले खैरो हिरोइन ८४.३२ग्राम, नाईट्रोभेट नामक ट्याबलेट ३८६ , स्पासमो नामक ट्याबलेट १७३, ट्रामाडोल नामक ट्याबलेट १८ बरामद गरेको थियो । नियन्त्रणमा लिएकामध्ये ८जनालाई सुधार केन्द्रमा र ४३ जनालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । त्यस्तै चालू आर्थिक वर्षको भाद्र महिनामा १४८ ट्याबलेट नाईट्रोभेट नामक लागुऔषध सहित १ जना,कार्तिक महिनामा खैरो हिरोइन ३.३८ ग्राम सहित २ जना मंसिर महिनामा खैरोहिरोइन ३ ग्रामसहित १ जना पुस २ गतेसम्ममा १५ ट्याबलेट नाईट्रोभेट र ३६० ट्याबलेट स्पास्मोसहित २ जना पक्राउ गर्न सफल भएको बमले जानकारी दिए ।