कांग्रेसद्वारा बाँके, बर्दिया, कैलालीलगायत देशभर विरोध प्रदर्शन

मानबहादुर ठकुल्ला (टीकापुर), मुरली गोडिया (गुलरिया) र शक्ति परियार (राजापुर)
नेपाली कांग्रेसले संसद विघटनको विरोधमा बाँके, बर्दिया, कैलालीलगायत देशका सबै निर्वाचन क्षेत्रमा सोमबार एक साथ विरोध प्रदर्शन गरेको छ । यी विरोध कार्यक्रममा कांग्रेसका केन्द्रीय स्तरका नेताले सम्बोधन गरेका छन् ।
कैलालीको टीकापुरमा पनि कांग्रेस क्षेत्र नम्बर १ कैलालीले -याली सहित विरोधसभा गरेको थियो । टीकापुरस्थित कांग्रेस पार्टी कार्यालयबाट निकालिएको विरोध -याली खडकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । पूर्वउर्जा राज्यमन्त्री तथा कांग्रेसका पूर्वकेन्द्रिय सदस्य चन्द्रसिंह भट्टराइले अहिलेको सरकार प्रमुखको कदमले सबैलाई अफ्ठ्यारो पारेको बताउदै अझै यसलाई नझक्झकाउने हो भने फेरी अफ्ठ्यारो पर्न सक्ने भएकाले त्यसका लागि सचेत रहन आग्रह गरे ।
क्षेत्रीय सभापति भूवनेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न कोणसभामा प्रदेश सांसद तथा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रदेश सांसद उमादेवी वादी, पूर्वसांसद गंगाबहादुर कुवर, नेता फकिरसिंह कडायतले संसद विघटनको विरोधमा धारणा राखेका थिए ।

त्यसैगरी बर्दिया सदरमुकाम गुलरियामा आयोजित कार्यक्रममा पूर्वसिँचाइ मन्त्रि तथा कांग्रेस बर्दियाका सभापति संजयकुमार गौतमले केपी शर्मा ओली नेतृत्व सरकार नलायक भएको ओराप लगाए । उनले थपे “सरकारको असंवैधानिक नेपाली जनताले सहादत प्राप्त गरेर ल्याएको संविधानको मूल मर्म र भावनालाई कुल्चिने दुष्प्रयास गरेको छ ।’

त्यस्तै, बर्दियाको राजापुरमा कांग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले सम्बोधन गर्दै प्रधानमन्त्रीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भएको आरोप आरोप लगाएका थिए । दुई तिहाइको बहुमत ल्याएर विजयी भएको नेकपाको सरकारले गरिबलाई धनि बनाउने, गरिबलाई सत्ता हस्तान्तरण गर्ने भन्ने झुठो खेती गर्दै आएको बताए । कांग्रेस नेताले संसद विघटनको अलोकतान्त्रिक कदम सच्चाउन पनि सरकारसँग माग गरेका छन् ।