अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् : गगन थापा

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापा । फोटो सौजन्य : अर्जुन ओली

नेपालगन्ज : नेपाली कांग्रेसका नेता गगन थापाले अदालतको चार किल्लाभित्र न्यायको हत्या हुन नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक बेन्चमा सुनुवाइ भइरहेकाले न्यायालयबाट न्याय मिल्नेमा विश्वस्त रहेको बताए । ‘सर्वोच्च अदालतले यतिबेला न्याय गरोस्, विवेक गरोस्,’ उनले भने, ‘हामीले मर्यादित ढंगबाट के राख्न चाहन्छौं भने अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् ?’
प्रधानमन्त्रीले गरेको गल्तीलाई राष्ट्रपतिले सदर गरेर देशमा संवैधानिक संकट आएको भन्दै उनले समस्याको समाधान अदालतबाटै हुने बताए । संविधानको विषयमा देखिएको जटिलताबारे संवैधानिक व्याख्या गर्ने जिम्मेवारी सर्वोच्च अदालतको भएकाले जनताको आशा र भरोसालाई निराश नबनाउन पनि उनको आग्रह थियो ।