आरजे कृष्ण म्युजिक भिडियो निर्देशनमा, ‘म तिम्रो भएँ’ रिलिज

नेपालगन्ज : रेडियो कृष्णसार नेपालगन्जको चर्चित कार्यक्रम ‘पप लहर’ का आरजे कृष्णराज अधिकारी म्युजिक भिडियो निर्देशनमा जुटेका छन् ।
ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज) मा अभिनय एवम् निर्देशन सम्बन्धि अध्ययन समेत गरेका अधिकारीले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोको निर्देशन गरी सकेका छन् । फिल्ममा अभिनय गरेको अनुभव पनि छ । अधिकारी निर्देशित म्युजिक भिडियो ‘म तिम्रो भएँ’ को बिहीबार नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजको हलमा पत्रकार सम्मेलन गरी सिलौटो क्रियशनको युटुब च्यानलबाट रिलिज गरियो । भन्छन्, ‘बाँके जिल्लामा रहेर यहीको सानो टीमसँगै जिल्लामा उपलब्ध प्रविधिको प्रयोग गरेर बनाएको पहिलो म्युजिक भिडियो हो । यसअघि पनि ६/७ वटा म्युजिक भिडियोको निर्देशन गरिसकेको छु ।’
स्वर, संगीत र शब्द सीडी विजय अधिकारीको रहेको गीतमा मनीषा राईले गायनमा साथ दिएकी छन् । रामु चौधरीको छायांकन र सम्पादन रहेको भिडियोमा ईश्वर गिरी र आस्था पन्तको अभिनय रहेको छ । भिडियोलाई बाँके, दाङ अनि प्युठानलगायतका स्थानमा खिचिएको हो।