बर्दिया निकुञ्जमा एकसाथ ३ वटा पाटेबाघ देखेर पर्यटक दङ्ग (भिडियो)

काठमाडौंका पर्यटकले देखेका बाघ । फोटो र भिडियो सौजन्य : जंगल हेभेन होटल एण्ड कटेज ठाकुरद्वारा बर्दिया

नेपालगन्ज : काठमाडौंबाट आएको एउटा पर्यटक टोलीले आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा ३ घण्टाको जंगल घुम्दा एकसाथ ३ वटा पाटेबाघ (बेंगाल टाइगर) र एउटा गैंडा अवलोकन गरेको छ ।
बाघ हेर्नका लागि काठमाडौंको किर्तीपुरबाट ठाकुरद्वारा पुगेका राजमान श्रेष्ठ, सुशीला श्रेष्ठ, सविन श्रेष्ठ र नापी श्रेष्ठले बिहान ९ः३० बजेतिर सुरुमा गैंडा र त्यसपछि ३ वटा बाघ देखेको गाइड शिवराज मगरले बताए । ठाकुरद्वाराको जंगल हेभेन होटल एण्ड कटेजबाट गाइड मगरसँगै अर्की गाइड सीता चौधरी पनि गएकी थिइन् ।

‘सुरुमा हामीले गैंडा भेट्यौं । गैंडाले २ पटकसम्म लखेट्यो । केही समयपछि बाघ देख्यौं । सुरुमा एउटा बाघको बच्चा खोलाको पानीमा आयो । २ वटा बाघ माथि झाडीमा लडिरहेका थिए’, मगरले बाघ अवलोकन गरेको अनुभव सुनाए, ‘हामी खोला वारी लुकेर बसेका थियौं । खोला पारी मुस्किलले ६०/७० मिटरको दुरीमा बाघ थिए ।’

५ वर्षदेखि जंगलवाक्मा गाइडको काम गर्दै गरेका मगरले बर्दिया राष्ट्रिय निकुञ्जमा धेरै पटक बाघ देखेका छन् तर एकसाथ ३ वटा बाघ देखेको भने यो दोस्रो पटक हो । भन्छन्, ‘सन् २०१२ मा पनि मैले २ वटा बच्चासहितको ३ वटा बाघ देखेको थिए । त्यत्तिबेला बच्चा सानै थिए । आज त आमा बराबरकै बच्चा भेटियो । यो बच्चा आमादेखि छुट्टिने अवस्थाका हुन् ।’ उनका अनुसार आमाको उमेर झन्डै ८/९ वर्ष र बच्चाहरु साढे २ वर्ष जतिका हुनुपर्छ । पर्यापर्यटन प्रबद्र्धन विकास मञ्च ठाकुरद्वारा बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईले आफूले केही दिन अघि १५ मिटरकै दुरीमा बाघ देखेको बताए । उनले भने, ‘बर्दिया राष्ट्रिय निकुञ्ज बाघकै कारण विश्वमै लोकप्रिय भएको छ । हामी आग्रह गछौं बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्ज आउनुस् ।’