नौवस्ता औद्योगिक क्षेत्रको क्षेत्रफल आधा खुम्चियो

नौबस्ता औद्योगिक क्षेत्रको स्केच । सौजन्य : नौवस्ता औद्योगिक क्षेत्र परियोजना कार्यालय

नेपालगन्ज : निर्माणाधीन नौवस्ता औद्योगिक क्षेत्रको क्षेत्रफल निर्माण नहुँदै आधाभन्दा बढी खुम्चिएको छ ।
१ चैत्र २०७२ मा सरकारले नौवस्ता औद्योगिक क्षेत्र घोषणा गर्दा यसको क्षेत्रफल ५ सय २५ बिगाहा थियो । २७ जेठ २०७३ मा औद्योगिक क्षेत्रको नाममा जग्गा धनी प्रमाण पूर्जा (लालपूर्जा) मा ३ सय ३८ बिगाहा कायम गरियो । यो जग्गामा पनि सशस्त्र प्रहरी बलका लागि २० बिगाहा, क्षेत्रीय कारागारका लागि १० बिगाहा र ३० बिगाहा क्षेत्रफलमा बस्ती व्यवस्थापन गर्दा औद्योगिक क्षेत्र बन्ने क्षेत्रफल भने २ सय ७८ बिगाहामा खुम्चिएको छ । नौवस्ता औद्योगिक क्षेत्र परियोजना प्रमुख कृष्णबहादुर पुन भन्छन्, ‘औद्योगिक क्षेत्र घोषणा गरिएको ठाउँमा सरकारी जग्गा झन्डै १ हजार २ सय बिगाहा भन्दा पनि बढी जग्गा छ । २ सय ७८ बिगाहा क्षेत्रफलमा निर्माण गर्न खोज्दा पनि स्थानीयको अवरोध कायमै छ ।’ औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेका भूमिहीनको समस्यासमेत समाधान भइसकेको छैन । स्थानीयलाई कति क्षेत्रफलका दरले उपलब्ध गराउने भन्ने टुंगो नलागेकाले औद्योगिक क्षेत्रको वास्तविक क्षेत्रफल कति हुने हो भन्ने कुनै टुंगो छैन ।