के तपाईले हात्तीपाइलेविरुद्धको औषधि लगातार ६ वर्ष खानुभयो ?

नेपालगन्ज : बाँकेमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालेको १० वर्ष पूरा भयो । तपाईले हरेक वर्ष औषधि सेवन पनि गरिरहनु भएको होला ? तर ख्याल गर्नुस्, लगातार ६ वर्ष औैषधि सेवन गर्नु भएको छैन भने औषधिले पूर्ण रुपमा काम गर्र्दैन ।
हात्तीपाइलेविरुद्धको औषधि सेवनबारे बिहीबार नेपालगन्जमा पत्रकारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह भन्दै थिए, ‘हरेक वर्ष औषधि सेवन गर्नेले लगातार ६ वर्ष पूरा भएको हुनुपर्छ । अनि मात्र औषधिले पूर्ण रुपमा काम गर्छ ।’
कार्यक्रममा डा.मदन कोइरालाले अझ प्रष्ट पारे, ‘हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्दा हाम्रो शरीरभित्र रहेको जिवाणु निस्कृय हुन्छ । लगातार ६ पटकसम्म नखाने हो भने त्यो जिवाणु पुनः सक्रिय हुनथाल्छ ।’ विश्व स्वास्थ्य संगठनले कम्तीमा ४ देखि ६ वर्षसम्म लगातार औषधि सेवन गर्नुपर्ने भनेको छ । देश अनुसार औषधि सेवन गर्ने वर्ष घटबढ हुन्छ । नेपालमा ६ वर्ष भनिएको छ ।
बाँकेमा ११ वर्षमा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आमऔषधि सेवन कार्यक्रम २० चैत्रदेखि सुरु हुँदैछ । कार्यालय प्रमुख शाहले यो वर्ष जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन ४ सय ९० जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरिने जानकारी दिए । अघिल्लो वर्ष ७४ प्रतिशतले मात्र औषधि सेवन गरेका थिए । गर्भवती, सुत्केरी र सिकिस्त बिरामी बाहेक २ वर्षमाथिका सबैलाई औषधि खुवाउने लक्ष्य छ । बाँकेमा २०६७ सालदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएको हो ।