बाँकेको बैजनाथ-१ बालविवाह मुक्त वडा घोषणा

बाँकेको बैजनाथ–१ लाई बालविवाह मुक्त वडा घोषणा । फोटोहरु : मेरो खुसी

चिसापानी (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–१ बालविवाह मुक्त वडा घोषणा भएको छ ।
शुक्रबार बैजनाथको चिसापानीमा आयोजित कार्यक्रममा वडा नं. १ का अध्यक्ष रुपबहादुर मल्लले बालविवाह मुक्त वडा घोषणा गरेका हुन् । बैजनाथ जिल्लामा बालविवाह मुक्त वडा घोषणा गर्ने दोस्रो पालिका भएको छ । कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष ठकुरी र उपाध्यक्ष विश्वकर्माले ८ वटै वटालाई बालविवाह मुक्त वडा घोषणा गर्दै पालिकालाई नै बालविवाह मुक्त घोषणा गरिने प्रतिबद्धता जनाएका थिए ।

बैजनाथ–१ लाई बालविवाह मुक्त घोेषणा गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरी सहयोग गरेको थियो । बालविवाहविरुद्ध वडामा एकता किशोरी क्लबलाई परिचालन गरिएको थियो ।


सो अवसरमा गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे, एकता किशोरी क्लबकी अध्यक्ष अनु रावतलगायत राजनीतिक दलका प्रतिनिधिहरुले बालविवाह मुक्त वडा घोषणा गरेकोमा वडालाई बधाइ दिएका थिए ।


कार्यक्रममा बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश थापाले बैजनाथ–१ मा सर्भेक्षण गर्दा १४.४५ प्रतिशत मात्र बालविवाह भएको पाइएको तथ्याङ्क प्रस्तुत गरे । पालिकाको बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका–२०७७ ले पालिकामा भएको कूल विवाहमध्ये २० प्रतिशतभन्दा कम बालविवाह भएपछि बालविवाह मुक्त वडा घोषणा गर्न सकिने व्यवस्था छ ।
कार्यक्रमस्थलमा जनप्रतिनिधि, दल, नागरिक समाज, किशोरकिशोरी, पत्रकारलगायतले बालविवाह नगर्ने, नगराउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा एकता किशोरी क्लबका दीपा पुन, संगीता सुनार र जुनु थापाले नृत्य प्रस्तुत गरेका थिए ।

बालविवाह मुक्त वडा घोषणासभा हुनु अघि चिसापानी बजार -यालीले परिक्रमा गरेको थियो । -यालीका सहभागीले बालविवाह विरुद्धका प्लेकार्ड बोकेर नारा लगाएका थिए ।


गाउँपालिकाले बालविवाहमा योगदान गर्ने वडा नंं. १ कार्यालय, साझेदार संस्था प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँके, इलाका प्रहरी कार्यालय चिसापानी, एकता किशोरी क्लब र स्याकको बैजनाथ फिल्ड सुपरभाइजर बबिता सिंहलाई सम्मान गरेको थियो ।