विद्यालयमा राजनीति बढ्यो : नगर उपप्रमुख गिरी

मुरली गोडिया । गुलरिया
बर्दियाको गुलरिया नगरपालिकाकी उप-प्रमुख सुशीला गिरीले विद्यालयमा विद्यार्थी टिकाउनेभन्दा राजनीति बढी हुने गरेको बताएकी छिन् ।
दलित महिला उत्थान संघ बर्दियाले शुक्रबार गुलरियामा आयोजना गरेको चाँडै हुने विवाह तथा जबरजस्ती हुने बालविवाह न्यूनिकरण सम्बन्धी भएको एक छलफल कार्यक्रममा उपप्रमुख गिरीले शिक्षाको केन्द्र विद्यालयमा बालबालिकालाई टिकाउनुभन्दा राजनीतिक खिचातानी हुने गरेको बताएकी हुन् ।
नगरमा रहेका विद्यालयहरुको अनुगमनका क्रममा गुलरियाको केही विद्यालयका विद्यार्थीहरुको उपस्थिति संख्या हेर्दा कक्षा ७–८ पढेपछि ती विद्यार्थी संख्या घटेको पाइएको बताइन् । ती विद्यार्थी कहाँ गए ? उनीहरु विद्यालय छाडेको विषयको खोजी नभएको उनको भनाइ छ । विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरु केवल बैठक बसी सहि छाप गर्ने गरेको प्रष्ट्याउँदै उनले विद्यालयमा विद्यार्थी संख्या घटिरहेको विषयमा कसैले चासो नदिएको गुनासो गरिन् ।
विभिन्न संस्थाहरुले बालविवाह न्यूनिकरणका क्षेत्रमा काम गर्दै आए पनि नगरपालिकासँग समन्वय नभएको उनले बताइन् । उनले भनिन ‘अन्तिममा परियोजना सकिने बेला साक्षीको रुपमा हस्ताक्षर गराउन मात्र संस्थाहरुले खबर गर्ने प्रवृति रहेको छ । यस्तोे हुनुहुँदैन ।’ पछिल्लो समयमा एनजीओमुखी भएको आरोप खेपिरहेको उल्लेख गर्दै उपप्रमुख गिरीले अब सीमावर्ती तथा समास्याग्रस्त स्थानमा कार्य नगर्ने संस्थाको खारेजी गर्ने बताएकी हुन् ।