राप्ती सोनारीका तीन सय जनालाई नागरिकता

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकाका तीन सय बढीलाई नागरिकता वितरण गरिएको छ ।

नागरिकता प्राप्त गर्नबाट बन्चित र उमेर पुगेका ३ सय ७ जनालाई राप्तीसोनारी गाउँपालिकासँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकता वितरण गरेको हो । बिहीबार गाउँपालिकाको वडा नम्वर ३, ४ र ५ का नागरिकता लिन चाहने व्यक्तिहरुको सम्पूर्ण कागजात र सिफारिस तयार गरेर गाउँपालिकाले शुक्रबार बसको व्यवस्था गरी नागरिकता लिन जिल्ला प्रशासन कार्यालय बाँकेमा पठाएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्लाको दुर्गम क्षेत्रका नागरिकको सहजताका लागि गाउँपालिकासँग समन्वय गरी प्रशासनमा नागरिकता वितरण गरिएको बताए । यसरी सेवा दिँदा सदरमुकामभन्दा टाढा भएका दूरदराजका नागरिक र प्रशासनको बीचमा सम्वन्ध प्रगाढ हुने उनको विश्वास छ । उनले नागरिकता लिन आएका सेवाग्राहीलाई गाउँपालिकाले बसको व्यवस्था गरी पठाएको र सरकारी खाना खुवाएर पठाएको बताए ।