आज होली पर्व, घरभित्रै खेलौं होली : प्रहरी/प्रशासन

File Photo

नेपालगन्ज : रंगहरुको पर्व होली अर्थात फागु पूर्णिमा सुरु भएको छ । यो वर्ष आइतबार हिमाली एवं पहाडी जिल्लामा र तराईका जिल्लामा सोमबार होली परेको छ । पहाड र हिमालमा एक दिन मात्र मनाए पनि तराईका जिल्लामा भने दुबै दिन होली मनाइन्छ ।
कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रहसमेत गरेको छ । बाँकेको प्रहरी प्रशासनले घरभित्रै होली खेल्न सार्वजनिक अपिल गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भारतमा कोभिडको प्रकोप तिब्र रुपमा बढदै गएको र त्यहाँबाट आउने नेपालीमा कोरोना देखिएकाले होली पर्व घरमै मनाउन आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि कोरोनाका कारण घरभित्रै होली खेल्न सार्वजनिक अपिल गरेको छ ।