भारतमा संक्रमण बढेसँगै जमुनाहा नाकामा कडाइ

नेपालगन्ज : भारतमा कोरोना भाइरसको संक्रमण दर दैनिक रुपमा बढ्दै गएपछि कामको सिलसिलमा त्यहाँ गएका नेपालीहरु स्वदेश फर्किने क्रम बढेको छ । दैनिक रुपमा भारतबाट नेपालीहरु घर फर्कने क्रम बढेसँगै बाँकेको जमुनाहा नाकामा हेल्थ डेक्स सञ्चालन गरी एन्टिजेन जाँच गर्नुका साथै अत्यावश्यक कामबाहेक भारत आउजाउमा कडाइ गरिएको छ । बुधबारदेखि हेल्थ डेक्स सञ्चालन गरेर एन्टिजेन परीक्षण गरिएको जमुनाहा नाकामा हालसम्म दुई जनालाई कोरोना संक्रमण पुष्टिसमेत भइसकेको छ । शुक्रबार गुजरातबाट आएका रोल्पाका एकजना व्यक्ति कोरोना संक्रमण पुष्टि भएको थियो भने शनिबार बर्दियाको बढैयातालका एक पुरुषमा समेत पोजेटिभ देखिएको थियो ।
भारतबाट फर्कनेहरुमा संक्रमण देखिन थालेपछि संक्रमण फैलिन नदिन भन्दै सीमामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर रामबहादुर कुरुम्वाङ बताए । हाल अत्यावश्यक काम बाहेक आउजाउमा रोक लगाइएको छ । भारतबाट आउनेहरुको भीँडभाड बढेकोले थप व्यवस्थापनका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकबाट निर्णय गरिने उनको भनाइ छ ।