स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि खजुरास्थित क्यान्सर अस्पतालको सेवा बन्द

नेपालगन्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।
अस्पतालमा कार्यरत डाक्टर, स्टार्फ नर्स र प्रशासनिक कर्मचारी गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि इमरजेन्सी बाहेक अरु सबै सेवा बन्द गरिएको हो । सामान्य लक्षण देखिएपछि अस्पतालका कुल १३ जनाको पीसीआर परिक्षण गरेकोमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यका अनुसार आइतबारदेखि १८ गतेसम्मका लागि इमरजेन्सी बाहेक अरु सबै सेवा बन्द गरिएको छ । रोगप्रतिरोधात्मक क्षमता कम भएका नियमित केमोथेरापी गराउनुपर्ने बिरामीहरुमा संक्रमण फैलिन सक्ने कुरालाई मध्यनजर गर्दै एक साताका लागि सो सेवा पनि बन्द गरिएको छ । ‘सेवा बन्द गरिए पनि टाढा–टाढाबाट उपचारका लागि आइसकेका बिरामीहरुलाई भने सेवा दिइरहेका छौ’ उनले भने ।