एमालेको एकल बहुमतको सरकारमा पोखरेल पुनः मुख्यमन्त्री बन्दै

नेपालगन्ज : लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः शंकर पोखरेल हुने भएका छन् । आइतबारको एमाले संसदीय दलको बैठकले पोखरेललाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । अविश्वास प्रस्तावका विषयमा छलफल गर्न डाकिएको प्रदेशसभाको विशेष अधिवेशन अघि नै उनले आइतबार बिहान राजिनामा दिएका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो । कांग्रेस र जसपाको साथमा पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि थियो ।
अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुनेछ । माओवादी केन्द्र र जसपाका गरी ६ जना सांसदको पद रिक्त भएपछि एमालेलाई एकल सरकार बनाउन सहज भएको हो । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टीका चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । एमाले एक्लैसँग ४१ सांसद छन् । एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । जसमा माधव नेपाल पक्षका दुई जना सांसद छन् ।
कांग्रेसको १९, माओवादीको १७, जसपाको २ र जनमोर्चाका १ जना सांसद गर्दा जम्मा ३९ सदस्य हुन्छ । मुख्यमन्त्री पोखरेलले राजीनामासँगै उपधार १ बमोजिम सरकार गठनको माग गरेका छन् । प्रदेशप्रमुखको कार्यालयले सम्भवतः सोमबार शपथ गराउने कार्यक्रम गर्नेछ । उपधारा १ बमोजिम गठन भएको सरकारले तीन दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ ।